

काठमाडौँ : रसुवामा आएको भीषण बाढीपछिको खोज, उद्धार तथा राहत कार्यका लागि २९ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। मंगलबार बिहानसम्म बाढीका कारण ९८७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार बाढीले बगाएर ल्याएका शवहरू चितवन (३२१), नवलपरासी (३८६), गोर्खा, धादिङ, रसुवा र नुवाकोटसहितका जिल्लामा फेला परेका छन्। बेपत्ता हुनेहरूमा स्थानीयवासीका साथै ५८३ विदेशी नागरिक र १०४ जना सुरक्षाकर्मी तथा कर्मचारी समेत रहेका छन्।
नेपाली सेना र सशस्त्र प्रहरीले ६ सयभन्दा बढी हवाई उडानमार्फत ११ हजार ८ सय १४ जनाको सकुशल उद्धार गरेका छन्। प्रभावित क्षेत्रका लागि सरकारले स्थानीय तहहरूमार्फत करोडौँ रुपैयाँ नगद र ३७ ट्रकभन्दा बढी राहत सामग्री पठाइसकेको छ। बन्द भएका सञ्चार टावरहरू मर्मत गरी टेलिफोन सेवा पुनः सुचारु गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |