


बनेपा : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलका पिता तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको आइतबार ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उपचाररत खरेलको निधनसँगै काभ्रे कांग्रेसले एक अनुभवी राजनीतिक अगुवा गुमाएको छ।
काभ्रेको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने नेतामध्ये पर्थे। २०३६ सालको जनमत संग्रहदेखि २०४६ तथा २०६२/६३ का जनआन्दोलनसम्म उनी निरन्तर सक्रिय रहे। कांग्रेसको राजनीतिमा लागेकै कारण उनले विभिन्न समयमा गरी करिब नौ वर्ष जेल जीवन बिताएका थिए।
वि.सं. २०५६ को आमनिर्वाचनमा काभ्रे क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खरेलले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। शिक्षा राज्यमन्त्रीका रूपमा उनले काभ्रेमा प्राथमिक शिक्षा परियोजना विस्तार, विद्यालय पूर्वाधार निर्माण तथा शिक्षक दरबन्दी थप्न महत्वपूर्ण भूमिका खेलेका थिए।
उनको निधनप्रति कांग्रेस नेता तथा कार्यकर्ताले दुःख व्यक्त गर्दै काभ्रेको राजनीतिक इतिहासमा उनको योगदान स्मरण गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |