


काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४०औं वार्षिकोत्सवको अवसरमा विद्युत् सेवा विश्वसनीय, गुणस्तरीय र आधुनिक बनाउन नयाँ प्रतिबद्धता सार्वजनिक गरेको छ। वार्षिकोत्सवको अवसरमा जारी प्रतिबद्धतापत्रमा प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई थप सुदृढ बनाउँदै उपभोक्तालाई सुरक्षित र निरन्तर विद्युत् आपूर्ति गर्ने जनाएको छ।
विद्युत् वितरण प्रणाली सुधारका लागि भूमिगत लाइन, स्मार्ट मीटर जस्ता प्रविधि विस्तार गर्ने तथा विजुली चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्ने प्राधिकरणले जनाएको छ।
त्यस्तै, आन्तरिक माग र आपूर्ति सन्तुलन गर्दै छिमेकी मुलुकमा विद्युत् निर्यात विस्तार गर्ने, विद्युतीय यातायातलाई प्रोत्साहन गर्ने र इन्धनमा निर्भरता घटाउने लक्ष्य प्राधिकरणले अघि सारेको छ।
उपभोक्ता सेवामा सुधारलाई केन्द्रबिन्दु बनाउँदै पारदर्शिता, सरल प्रक्रिया र प्रविधिमैत्री सेवा प्रणालीलाई थप सुदृढ बनाइने प्रतिबद्धता पनि गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकार, विकास साझेदार, निजी क्षेत्र, सञ्चार माध्यम, कर्मचारी र उपभोक्ताको निरन्तर साथले ऊर्जा क्षेत्रमा उपलब्धि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन्।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |