

काठमाडौं : आईसीसी टी–२० विश्वकपअघि आत्मविश्वास बढाउने प्रदर्शन गर्दै नेपालले वार्मअप खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भएको खेलमा नेपालले १४६ रनको लक्ष्य सहजै पूरा गर्यो ।
लक्ष्य पछ्याउने क्रममा नेपालले १७ ओभरमै ३ विकेटको क्षतिमा जित हात पार्यो । मध्यक्रमका आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अविजित शतकीय साझेदारी गर्दै जित पक्का गरे । आरिफले ६१ तथा दीपेन्द्रले ५० रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन जोडेको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामीछाने र करण केसीले समान २–२ विकेट लिए भने दीपेन्द्रले एक विकेट झारे ।
नेपालले अब दोस्रो वार्मअप खेल बिहीबार क्यानडासँग खेल्नेछ
