

काठमाडौँ : काठमाडौँको सुकेधारास्थित ‘एजिङ होम’ (Aging Home) को आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय नि:शुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
एजिङ होमका संस्थापक राजेन्द्र नेगीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै उहाँहरूको आँखा निरोगी र दृष्टि सफा रहोस् भन्ने पवित्र उद्देश्यका साथ यो विशेष आँखा शिविरको आयोजना गर्नुभएको हो। ज्येष्ठ नागरिकहरूमा उमेरसँगै आउने दृष्टिसम्बन्धी समस्यालाई बेलैमा पहिचान गरी सहज उपचारमा पहुँच पुर्याउन उहाँले यो पहलकदमी लिनुभएको आयोजक टोलीले जनाएको छ
शिविरमा डा. मनिषा गुरुङको नेतृत्वमा ७ जना चिकित्सकको प्राविधिक टोलीले बिरामीहरूको गहन आँखा परीक्षण तथा परामर्श प्रदान गरेको थियो। एजिङ होमको प्राङ्गणमा आयोजित उक्त शिविरमा कुल १०५ जना बिरामीको आँखा परीक्षण गरिएकोमा ७३ जना बाह्य बिरामी सेवा (OPD) र ३२ जना अन्तरङ्ग बिरामी सेवा (IPD) का बिरामीहरू रहेका छन्। साथै, शिविरमा दृष्टिदोष भएका १६ जना बिरामीहरूलाई नि:शुल्क चश्मासमेत उपलब्ध गराइएको छ।
परीक्षणका क्रममा १४ जना बिरामीहरूमा मोतिविन्दु (Cataract) को समस्या देखिएको छ। मोतिविन्दु देखिएका ती १४ जना बिरामीहरूको नेपाल आँखा अस्पतालमा उपचार गरिने छ ।

नेपाल आँखा अस्पतालका कार्यकारी बोर्ड सदस्य राजाराम श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका अवसरमा आँखा शिविरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र सामाजिक सेवामा निरन्तर सक्रिय योगदान पुर्याएको भन्दै कार्यक्रम संयोजक राम केसी तथा समाजसेवी बेबिना खड्कालाई विशेष सम्मान गरिएको थियो।
आफ्नै प्राङ्गणमा विशेषज्ञ डाक्टरहरूको टोलीबाट नि:शुल्क आँखा जाँच, चश्मा तथा शल्यक्रियाको सुविधा पाउँदा लाभान्वित ज्येष्ठ नागरिकहरूले एजिङ होमका संस्थापक राजेन्द्र नेगी, डा. मनिषा गुरुङ नेतृत्वको चिकित्सक टोली तथा त्रिपुरेश्वर आँखा अस्पतालप्रति हार्दिक आभार व्यक्त गरेका छन्। एजिङ होमले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको स्वास्थ्य र कल्याणका लागि यस्ता सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |