


काठमाडौं : तीन महिनायता फैलिएको बर्डफ्लु संक्रमणका कारण देशभर पाँच लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट गरिएका छन्। संक्रमण नियन्त्रणका लागि सरकारले हालसम्म झन्डै १० लाख अन्डा र करिब दुई लाख किलो दाना पनि नष्ट गरेको जनाएको छ।
पशु सेवा विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ४ चैतदेखि सुरु भएको संक्रमण ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको छ। मोरङबाट सुरु भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको विभागले जनाएको छ।
संक्रमण नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको छ। कोशी प्रदेशमा संक्रमण केही नियन्त्रणमा आए पनि काठमाडौं उपत्यकामा जोखिम उच्च रहेको छ।
विभागले पन्छीपालक किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन, अस्वाभाविक रूपमा पन्छी बिरामी परे वा मरे तत्काल पशु सेवा निकायमा जानकारी गराउन आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |