काठमाडौँ : प्रकृतिप्रतिको श्रद्धा, उपासना र सूर्यदेवको आराधनाको महापर्व छठ आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएसँगै हर्षोल्लासपूर्वक मनाइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म विधिपूर्वक मनाइने यस पर्वको मुख्य दिन आज साँझ बर्तालुहरू नदी, पोखरी तथा जलाशय किनारमा भेला भई अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन् । महाभारतकालमा पाण्डवहरूले गुप्तवास सफल पार्न सूर्यदेवको आराधना गरेको पौराणिक ग्रन्थमा उल्लेख छ भने अत्रिमुनिकी पत्नी अनुसूयाले अटल सौभाग्य प्राप्त गर्न यो व्रत सुरु गरेको जनविश्वास रहिआएको छ ।
भौतिक अस्तित्व र चिकित्सा विज्ञानसँग समेत जोडिएको यस पर्वमा चर्मरोग निवारण हुने तथा परिवारको सुख, समृद्धि र सन्तानको कल्याण हुने धार्मिक मान्यता छ । पहिलो दिन चोखोखाएर र दोस्रो दिन खरनाको विधि पूरा गरेका बर्तालुहरू आज कठोर निराहार व्रत बसी रातभर जाग्राम बस्नेछन् ।
विसं २०४६ पछि राष्ट्रिय स्वरूप ग्रहण गरेको छठ पर्व हाल काठमाडौँ उपत्यकाका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, बागमती, नख्खु र विष्णुमती किनारलगायत देशभरका जलाशयहरूमा भव्य रूपमा मनाइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो यो कठिन व्रत विधिवत् रूपमा सम्पन्न हुनेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |