काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले तराई-मधेशसँगै काठमाडौँ उपत्यका, पहाडी र हिमाली जिल्लामा समेत छठ पर्व मनाउने चलन विस्तार हुँदै जानु खुसीको विषय भएको बताएका छन् ।
छठ पर्व २०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् । सन्देशमा उनले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै मनाइने यस पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना र पारिवारिक एवं सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुर्याउने उल्लेख गरेका छन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठले स्वच्छता, संयमता र सामाजिक सन्तुलनको सन्देश प्रवाह गर्ने राष्ट्रपतिको भनाइ छ ।
यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय र लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति तथा विसङ्गतिको अन्त्य गरी राष्ट्रिय एकता सुदृढ पार्ने विश्वास उनले व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले छठी माता र सूर्य भगवान्को कृपाले देशमा दिगो शान्ति, सुशासन र समृद्धि प्राप्त होस् भनी कामनासमेत गरेका छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |