रोल्पा : मलेसिया वैदेशिक रोजगारीका नाममा भएको ठगी प्रकरणको छानबिन निष्पक्ष नभएको भन्दै नेकपाका नेता वर्षमान पुनले वर्तमान सभामुख तथा तत्कालीन श्रममन्त्री डीपी अर्याललाई अनुसन्धानको दायरामा नल्याइएकोमा प्रश्न उठाएका छन् ।
रोल्पामा आयोजित पत्रकार सम्मेलनमा पुनले सरकारले छानबिनमा दोहोरो मापदण्ड अपनाएको र आफूनिकट व्यक्तिलाई उन्मुक्ति दिएको बताएका हुन् । प्रकरणसँग जोडिएको अवधिमा सात जना श्रममन्त्री जिम्मेवारीमा रहेको उल्लेख गर्दै उनले छानबिन सुरु गर्ने मन्त्री र बीचका मन्त्रीहरूलाई जोगाएर लक्षित व्यक्तिमाथि मात्र कारबाही अघि बढाइएको बताए । आफ्नै दलबाट प्रतिनिधित्व गरी हाल सभामुख रहेका व्यक्ति पनि त्यसबेला मन्त्री रहेको उनको भनाइ थियो ।
फरक मत राख्नेलाई मात्र छानीछानी कारबाही गर्न खोजिएको आरोप लगाउँदै पुनले यसलाई सुशासन नभई ‘निर्देशित छानबिन’ र प्रतिशोधको रूप भएको टिप्पणी गरे । पुरानो दल वा नेतासँग निकट रहेकै आधारमा निजी क्षेत्रका व्यक्तिलाई समेत तर्साउने काम भइरहेको उनको जिकिर छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |