काभ्रे : शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पाँचखाल नगरपालिका-७, शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो ३ बजे खटिएको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३१ पुरुष र ५ महिला छन् । प्रहरीका अनुसार रिसोर्टका दुईवटा कोठामा खानतलासी गर्दा ठूलो परिमाणमा ल्यापटप र मोबाइल फोनहरू बरामद भएका छन् । स्थानीय बासिन्दाको गुनासोका आधारमा डीएसपी रवीन विष्ट र इन्स्पेक्टर मनराज बानियाँको कमान्डमा ३० जनाको सुरक्षा टोली रिसोर्ट पुगेको थियो ।
प्रहरी चौकी पाँचखालबाट करिब ३ किलोमिटर पूर्वमा रहेको उक्त रिसोर्टबाट नियन्त्रणमा लिइएका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको छ । डिजिटल उपकरणहरूको प्रयोग गरी उनीहरूले कस्तो किसिमको गतिविधि गरिरहेका थिए भन्नेबारे प्राविधिक र सूक्ष्म अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |