काठमाडौँ : नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खान र राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दीप राई नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार भेटवार्ता भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा भएको, यस भेटमा दुई देशबीच सञ्चार तथा पत्रकारिता क्षेत्रको सम्बन्ध सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो ।
भेटका क्रममा दुवै देशका सञ्चारमाध्यमबीच व्यावसायिक आदानप्रदान प्रवर्धन गर्ने, पत्रकारबीच सीप तथा अनुभव साटासाट गर्ने र सञ्चार संस्थाहरूको संस्थागत सम्बन्धलाई अझ प्रगाढ बनाउने सहमति भएको छ । यस सहकार्यले नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सोही अवसरमा गत भदौको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीकी छोरीको पठनपाठनका लागि दूतावासको तर्फबाट एक थान ल्यापटप सहयोग गरिएको छ । उक्त ल्यापटप राससकर्मीसमेत रहेकी थामीकी श्रीमती कालिका खड्कालाई हस्तान्तरण गरिएको हो ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |