पोखरा : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हितका महत्वपूर्ण मुद्दामा उपलब्धिविहीन भएको टिप्पणी गरेका छन्।
प्रेस चौतारी कास्कीद्वारा आयोजित पत्रकार भेटघाटमा उनले सीमा विवाद, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाई रुटको विषयमा कुनै ठोस सहमति हुन नसकेको भन्दै भ्रमणको आलोचना गरेका हुन्।
पोखरेलले प्रधानमन्त्रीले विगतमा काठमाडौं महानगरपालिकाको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर अन्य नेतामाथि व्यङ्ग्य गर्ने गरे पनि भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयलाई समेत प्राथमिकतामा राख्न नसकेको बताए।
पोखरा र भैरहवा विमानस्थलको हवाई रुटको अन्योल कायमै रहनु तथा भारतसँग लिइएको दुई खर्ब रुपैयाँभन्दा बढी ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गरिनु विडम्बनापूर्ण भएको उनको भनाइ थियो। उनले ऋणको विषयमा विगतमा आलोचना गर्ने रास्वपाका नेताहरूको अहिलेको व्यवहारमाथि पनि प्रश्न उठाए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |