


काठमाडौँ : नेपाल स्की संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासँगै विन्टर ओलम्पिक्सको तयारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि ३४ लाख ८० हजार ८०० रुपैयाँको बजेट पारित गरेको छ।
आइतबार सम्पन्न संघको सातौँ साधारण सभाको बन्दसत्रले आर्थिक वर्ष २०८३/८४ का लागि उक्त वार्षिक बजेट पारित गरेको हो। अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा बसेको बन्दसत्रले राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रममा सहभागिता र खेलाडीको प्रशिक्षणलाई बजेटमा प्राथमिकता दिएको छ।
त्यस्तै, आगामी विन्टर ओलम्पिक्सको तयारीका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने योजना संघले अघि सारेको छ।
साधारण सभाले उपाध्यक्ष रमा भट्टराईले प्रस्तुत गरेको कार्ययोजना, महासचिव विजय श्रेष्ठको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।
यसअघि भएको उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठसहितका अतिथिले ‘स्नोलाइन म्यागेजिन’ को पहिलो अंक सार्वजनिक गरेका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |