काठमाडौँ : दीपावली पर्व सकिएसँगै मिथिलाञ्चलमा आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीका दिन मनाइने ‘नहाय–खाय’ विधिबाट चारदिने छठ पर्व सुरु भएसँगै तराई-मधेशका गाउँबस्ती र सहरमा पर्वको चहलपहल बढेको छ।
स्थानीयवासी घाट निर्माण, सरसफाइ, घर लिपपोत तथा पूजाका सामग्री जुटाउन व्यस्त भएका छन्। बजारमा बाँसका सामग्री, माटाका भाँडाकुँडा र छठ पूजाका लागि आवश्यक सामग्री किन्नेको भीड लागेको छ। घरघरमा गुञ्जिएका छठका पारम्परिक गीतले मिथिलाञ्चलको वातावरण भक्तिमय बनेको छ।
चार दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ। सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा समेत छठ पर्वलाई लिने गरिन्छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |