काठमाडौँ : पश्चिमी वायुको आंशिक प्रभाव र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’का कारण नेपालको मौसममा अचानक फेरबदल आएको छ। हिजोदेखि नै देशका विभिन्न भूभागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा हिमपातको सम्भावना छ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकीका केही स्थानमा अति भारी वर्षा र हिमपात हुन सक्ने हुनाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
खराब मौसमका कारण धानबालीमा ठूलो क्षति पुग्न सक्ने देखिएकाले आज र भोलि धान भित्र्याउनेलगायतका कृषि कार्य नगर्न महाशाखाले किसानहरूलाई अनुरोध गरेको छ। त्यस्तै, हिमपात र हिमपहिरोको जोखिम बढेकाले पर्यटकहरूलाई उच्च हिमाली क्षेत्रतर्फ नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |