काठमाडौं : सस्तो दरमा अमेरिकन डलर साटिदिने प्रलोभन देखाएर ५ लाख रूपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ धार्पा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल बस्ने २९ वर्षीय सुमन भन्ने मोहनबहादुर तामाङ रहेका छन्।
गोकर्णेश्वर नगरपालिका ४ को एकान्त स्थानमा पीडितलाई बोलाई अमेरिकन डलर देखाई सस्तोमा साट्ने प्रलोभनमा पार्दै गत २०८२ चैत २३ गते ५ लाख रूपैयाँ ठगी गरी फरार भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट मोहन र उनका साथीहरूले काठमाडौं उपत्यकाभित्र र बाहिर समेत विभिन्न व्यक्तिलाई सस्तो दरमा डलर साट्ने बाहानामा एकान्तमा बोलाई लुटपाट तथा ठगी गर्दै आएको खुल्न आएको छ। पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |