काठमाडौं : नेपाली कांग्रेसभित्र पार्टी नेतृत्वको कार्यशैली र दोहोरो मापदण्डलाई लिएर तीव्र असन्तोष प्रकट हुन थालेको छ। पार्टीका नेता रोजन राईले पिटिओ खबरसँग कुराकानी गर्दै सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवैको राजनीतिक आचरणमा सुधार आउनुपर्नेमा जोड दिएका छन्।
अतीतमा देउवाको वरिपरि रहेर काम गर्नेहरूले अहिले आएर सम्पूर्ण दोष उनीमाथि मात्र थोपर्नु उचित नभएको उनको तर्क छ। नेतृत्वले भाषणमा परिवर्तनको ठूला कुरा गरे पनि व्यवहारमा सुधार गर्न नसकेको नेता राईको भनाइ छ। पार्टी सभापतिजस्तो उच्च पदमा पुगेर र भावी प्रधानमन्त्रीको दाबी गरेर चुनावमा होमिएका नेताले पराजय व्यहोर्नु पर्दा त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने वा नपर्ने भन्ने प्रश्न उठेको छ।
उनले सुरक्षित मानिएका चुनावी क्षेत्रमा समेत पराजय भोग्नुपरेको अवस्था र हाल पार्टीभित्र देखिएको गुटगत तथा चुनावी परिणामप्रति गम्भीर प्रश्न उठाएका छन्। पार्टीभित्र गलत प्रवृत्तिको विरोध गर्नेहरूको मुख थुन्ने शैली वा अन्धभक्ति गराउने संस्कृतिले पार्टीलाई हित नगर्ने उनी बताउँछन्। नारा र भाषणले मात्र पार्टी नसुध्रिने उल्लेख गर्दै नेता राईले कांग्रेसलाई २।० शैलीको बनाउन वा पुरानो नेतृत्वको कार्यशैली फेर्न दुवै पक्षले व्यवहारमै सच्चिनुको विकल्प नरहेको स्पष्ट पारेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |