काठमाडौं : नेपाल र भारतबीचको सम्बन्ध, व्यापार तथा पारवहन सन्धि र सीमा विवादका विषयमा विश्लेषक राजेन्द्र शर्माले गम्भीर टिप्पणी गरेका छन्। भारतको विरोध गर्ने समय समाप्त भयो भनी हुने चर्चाबारे बोल्दै उनले जबसम्म भारतसँगका सीमा विवादहरू न्यायपूर्ण ढङ्गले समाधान हुँदैनन् र व्यापारिक सन्धिहरू स्वचालित रूपमा नवीकरण हुने प्रणालीमा जाँदैनन्, तबसम्म भारतको पेल्याहा प्रवृत्तिको विरोध गर्न छाड्न नहुने स्पष्ट पारेका छन्।
पिटिओ खबरसँग कुराकानी गर्दै उनले विगतदेखि नै नेपालका उद्योग–कलकारखाना र व्यापारिक गतिविधिमाथि आउने अवरोध तथा नाकाबन्दी जस्ता घटनाहरूलाई स्मरण गराउँदै विश्लेषक शर्माले नेपालजस्तो सानो र ठूलो व्यापार घाटा व्यहोरेको मुलुकलाई हेप्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका सीमा समस्या सदाका लागि टुङ्ग्याउनुपर्ने उनको भनाइ छ।
यदि भारतले नेपालको सार्वभौमिकता र आत्मसमानलाई सम्मान गर्दै सीमा विवाद समाधान गर्न र पारवहन सन्धिमा न्यायोचित परिवर्तन गर्न अग्रसरता देखाएमा मात्र दुई देशबीचको जनस्तर र राजकीय सम्बन्ध पूर्ण रूपमा सुमधुर बन्न सक्ने उनले बताए। तर, यस्ता आधारभूत मुद्दाहरूको सम्बोधन नभई हतारमा भारतको विरोध गर्न छोड्नु राष्ट्रिय हितविपरीत हुने उनको विश्लेषण छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |